राष्ट्रिय प्रजातन्त्र पार्टी बारे

बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पश्चात् राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्त प्रति प्रतिबद्ध रहँदै २०४७ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भएको हो । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा ३१ वर्ष अगाडि स्थापना भएको राप्रपा अनेकन आरोह अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको हो । जतिबेला राप्रपाको स्थापना भयो त्यतिबेला ०४६ को राजनीतिक परिवर्तन र आन्दोलनले स्थापित गरेको नेपाली कांग्रेस र एमालेको वर्चस्व स्थापना हुँदै गरेको थियो । मुलतः हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, उदार अर्थ व्यवस्था र परम्परागत मान्यतालाई कमजोर र धराशयी बनाउने गरि गतिविधिहरु देखिन थालेपछि राष्ट्रिय राजनीतिमा अलग पहिचान सहितको शक्तिको आवश्यकता महशुस गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय भएको हो ।

राप्रपा हुर्कदै गर्दा देश माओवादीको हिंसात्मक द्वन्द्वको चपेटामा पर्दै गयो । कांग्रेस एमाले जस्ता संसदवादी राजनीतिक दलहरू सत्ताको अस्वस्थ प्रतिस्पर्धा गर्दै गए । मध्यावधि निर्वाचन पछि संख्यात्मक रुपमा निर्णायक रहेको राप्रपालाई सत्ताको खेलबाट जोगाउन सकिएन । त्यसैबेलादेखि राप्रपाको टुटफुट र विभाजनको श्रृङखला शुरु भयो । हिंसात्मक द्वन्द्वमा रहेका माओवादीले संसदवादी दलहरूलाई आवश्यकता अनुसार उपयोग गर्ने रणनीति लिएकाले तत्कालीन अवस्थामा कुनै पनि दल विभाजन हुनबाट जोगिएनन् । माओवादीको हिंसात्मक द्वन्द्वको आकार बढ्दै गएको र संसदवादी दलको गलत सत्ता अभ्यास र खिचातानी भइरहेको पृष्ठभूमिमा राजाले आंशिक रुपमा २०५९ असोज १८ गते र पूर्ण रुपमा २०६१ माघ १९ गते शासन सत्ता हातमा लिनुपर्यो । राजाको कदमले राजनीति ध्रुवीकृत हुँदै गयो । तत्कालीन अवस्थामा समस्याको रुपमा रहेको माओवादी विद्रोह त्यसबेला पनि साम्य हुन सकेन । पोखरामा राप्रपाको तेश्रो महाधिवेशन भएपछि राजाको कदमलाई हेर्ने दृष्टिकोणमा राप्रपामा समेत मतैक्य हुन सकेन । अध्यक्ष पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा फेरि विभाजन हुन पुग्यो । कमल थापाले २०६२ पुस २६ गते अलग पार्टीको निर्माण गर्नुभयो । भारतको नयाँ दिल्लीमा हिंसात्मक द्वन्द्वमा रहेका माओवादी र तत्कालीन अवस्थामा आन्दोलनमा रहेका सात राजनीतिक दलका बीच भएको १२ बुँदे सम्झौता र त्यहि सम्झौताको जगमा भएको जनआन्दोलनबाट नेपालमा गणतन्त्रको स्थापना भयो । ०४७ मा स्थापना भएको राप्रपा गणतन्त्रको प्रारम्भिक दिनसम्म आइपुग्दा राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टीको रुपमा विभाजित भए ।

२०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाललाई अस्थिर तुल्याइ आफ्नो अभिष्ट पुरा गर्न चाहने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल, गठबन्धन र नियोजित षड्यन्त्रहरु सतहमा देखिन थाले । नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो, संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपाली राष्ट्रियताको प्रतिकको रुपमा रहेको राजसंस्थालाई पाखा लगाइयो । हिन्दुराष्ट्र र राजसंस्थालाई नियोजित र योजनाबद्ध ढंगबाट पाखा लगाएपछि नेपालको धार्मिक, सांस्कृतिक पहिचानलाई कमजोर बनाइ आफ्नो सांस्कृतिक प्रभाव विस्तार गर्न चाहने पश्चिमा मुलुकका अन्तरनिहित उद्देश्य संविधानसभाबाट संविधान निर्माणका बखत टड्कारो रुपमा प्रष्फुटित बन्न पुग्यो ।

पहिलो संविधानसभा संविधान निर्माण गर्न असफल भएपछि दोश्रो संविधानसभाको निर्वाचन गरि २०७२ असोज २ गते नेपालको संविधान जारी भयो । राप्रपाले अवलम्बन गरेका मुल सैद्धान्तिक विषयलाई नयाँ संविधानले समेट्न सकेन । राप्रपाले संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य गर्ने नीति लियो । संविधान निर्माणपछि हाम्रा राजनीतिक कार्यभारहरु जीवन्त छन् । घटनाक्रमले सम्पूर्ण देशभक्त, राष्ट्रवादी शक्तिहरु एकताबद्ध र संगठित बनाउँदै जानुपर्ने परिस्थिति सिर्जना भयो । ०७३ मंसिरमा कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपाल र पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा बीच एकता भयो । संविधान निर्माणपछिका सबै सरकारमा राप्रपाको सहभागीता फेरि पनि विभाजनको कारण बन्न पुग्यो, त्यो एकता ६ महिना पनि टिकेन । २०७४ मा भएका स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनको ठिक अगाडि पार्टी विभाजन गरेर सुखद र उत्साहजनक परिणाम आउने सम्भावना थिएन, सबै चुनावका परिणाम निराशाजनक रहे । ०७६ फागुनमा फेरि पार्टी एकता भयो ।

राप्रपा यतिखेर हालै सम्पन्न (०७८ मंसिर १५-१९) एकता महाधिवेशनले निर्देश गरेको राजनीतिक कार्यदिशा कार्यान्वयनको चरणमा रहेको छ । पार्टीको महाधिवेशनले नयाँ नेतृत्वको रुपमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई चयन गरेको छ । परम्परागत नेतृत्वको वर्चस्व रहेको नेपाली राजनीतिक दलमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको विषय बहसमा रहेको भएतापनि राप्रपाले त्यसलाई व्यवहार मै परिवर्तन गरेर परिवर्तनको वाहक शक्तिको रुपमा आफूलाई उभ्याएको छ । राप्रपाको महाधिवेशन पछि राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको ध्यान आकर्षित भएको छ । नयाँ नेतृत्व र नयाँ शक्तिको रुपमा उदाएको राजनीतिक दलले अवलम्बन गर्ने नीति, कार्यदिशा र नेतृत्व शैलीबारे सबैको चासो रहनु स्वभाविक पनि हो ।

जनआन्दोलन, जनआन्दोलनको जगमा संविधानसभा, संविधानसभा मार्फत संविधान निर्माण भएपछि पनि देशमा अन्यौलता र अस्थिरता कायमै छ । केही राजनीतिक दलको अकर्मण्यता, गलत नीति, अदूरदर्शीता र सत्ता लिप्साका कारणले गर्दा नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र एकता संकटमा परेको छ । सामाजिक, सांस्कृतिक सदभाव खलबलिएको छ । अर्थतन्त्र अस्थिर र संकटग्रस्त बनिरहेको छ । यस्तो अवस्थामा राष्ट्रलाई संकटको चक्रव्युहबाट जोगाउने अभिभारा राप्रपाको काँधमा आएको छ । जनताले राप्रपालाई आशा, भरोसाको नजरले हेरिरहेका छन् । महाधिवेशनपछि राप्रपामा विशेषगरी युवाको प्रवेश र आकर्षणले राष्ट्रिय राजनीतिमा राप्रपाको महत्त्व र उपादेयता बढिरहेको प्रष्ट छ । स्वदेश तथा विदेशमा रहेका लाखौं शुभेच्छुकहरु अब राप्रपा कतै अलमलमा नपरोस्, कतै नचुकोस् भन्ने शुभेच्छा प्रकट गरिरहेका छन् । यसले पार्टीलाइ सकारात्मक उर्जा, आत्मबल प्रदान गरिरहेको छ । शुभेच्छुकको शुभेच्छा पार्टीको पुँजीको रुपमा रहेको छ । देश र जनता प्रतिको दायित्वलाई निर्वाह गर्दै मुलुकको सामाजिक आर्थिक रुपान्तरण गर्ने शक्तिशाली संकल्प गर्दछौं ।

भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर देश र जनताको सेवामा समर्पित हुने अध्यक्ष राजेन्द्र लिङ्देनको संकल्प पार्टीका सबै तहमा अनुशरण गर्नैपर्छ । सबैको रचनात्मक र सकारात्मक सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।

पछिल्लो समचार