राजेन्द्र लिङ्देन
अध्यक्ष

अध्यक्षको सन्देश

हाम्रो गौरवशाली पार्टी राप्रपा हालै आफ्नो ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गरि नयाँ आशा, नयाँ सपना र उर्जा उत्साह बोकेर पार्टी जीवनको नयाँ यात्राको चरणमा छौं । महाधिवेशनलाई सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

पार्टी स्थापनाको ३१ वर्षका आरोह अवरोहका बीच पनि पार्टीलाई आजको अवस्थासम्म ल्याउन योगदान दिनुभएका संस्थापक नेताहरू एवं अग्रजहरुमा सम्मान व्यक्त गर्दछु । राप्रपाको सदस्य भएकै कारण ज्यान गुमाउन पुग्नुभएका शहिदहरु प्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु ।

यतिखेर हामी पार्टी जीवनको कठिन, चुनौतीपूर्ण तर महत्त्वपूर्ण क्षणमा छौं । राप्रपा तपाई हामी हजारौं पार्टी सदस्यको रगत पसिनाले सिंचित गर्दै, अथक मिहिनेत र परिश्रमबाट हुर्काउदै, बढाउँदै आजको अवस्थामा ल्याइएको नेपाल र नेपालीको गौरवशाली पार्टी हो । संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, सुदृढ स्थानीय निकाय, अखण्ड नेपाल राप्रपाका हरेक कार्यकर्ताका जीवन्त सपना हुन् । आयातित लोकतान्त्रिक गणतन्त्रको घनले नेपाली समाजमा स्थापित मान्यताहरु माथि प्रहार भएको भएपनि राप्रपाका सदस्य, शुभचिन्तकको मिहिनेत, प्रयासबाट नेपाली समाजमा हाम्रा सपनाहरू पुनः जागृत भइरहेका छन् । ति सपनाहरूलाई जोगाउने, समृद्ध तुल्याउने, संगठित पार्ने र त्यसका लागि आन्दोलनको आधारभूमि तयार गर्ने हिम्मत अब हामीले गर्नैपर्छ, समयले हामीसँग यसकै माग गरिरहेको छ ।

राप्रपा प्रजातन्त्र प्रति मन, वचन र कर्मले प्रतिबद्ध सु-स्पष्ट विचार र अलग पहिचान सहितको राजनीतिक दल हो । हरेक निर्णयमा पारदर्शिता, जवाफदेहीता र हरेक निर्णयमा प्रत्येक पार्टी सदस्यले अपनत्व लिन सक्ने आन्तरिक लोकतन्त्रको अभ्यास अब पार्टीले अवलम्बन गर्नुपर्दछ भन्नेमा म स्पष्ट छु ।

राजसंस्था एवं हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयता होइन सुदृढ स्थानीय निकायको पक्षमा रहनु भएका व्यक्ति, समुह, दलहरुका बीचमा सहकार्य, मोर्चा वा एकता गरेर एकीकृत शक्ति निर्माण गर्नुपर्दछ । राप्रपा यसमा खुल्ला छ, समयले यसको आवश्यकता झन् टड्कारो बनाउदैछ । यसमा ढिला नगर्न सम्बद्ध पक्षमा म अपील गर्दछु ।

अन्त्यमा, राप्रपाका हरेक सदस्यले हामी केवल एउटा राजनीतिक पार्टी चलाइरहेका छौं मात्रै होइन नेपाली माटो, नेपाली परिवेश सुहाउँदो, नेपाली जनताकै तागतमा नेपालमा परिवर्तन सम्भव तुल्याउने सपना बोकेको महत्त्वपूर्ण राजनीतिक दलको सदस्य भएको बुझेर आ-आफ्नो ठाउँमा, जिम्मेवारीमा खरो उत्रन आव्हान गर्दछु । राप्रपाको उन्नति, प्रगति देख्न चाहनु भएका शुभेच्छुक, शुभचिन्तकको सहयोग र सदभावको अपेक्षा राखेको छु ।

भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर देश र जनताको सेवामा प्रतिबद्ध रहने संकल्प पुनः दोहोर्याउँदछु ।

जय राष्ट्र ! जय जनता !!